रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । शुक्रबार सम्पन्न मतगणनासँगै विभिन्न समूह र समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भएको हो ।
रामेछाप कांग्रेसबाट खुला, महिला, युवा, श्रमिक, पेशागत तथा विषय विज्ञ, अपाङ्गता, अल्पसंख्यक, प्रजातान्त्रिक सेनानी तथा सहिद परिवार, खस आर्य र आदिवासी जनजातिलगायत विभिन्न समूहबाट प्रतिनिधि चयन भएका छन् । ३४ जनामध्ये ३३ जना निर्वाचनबाट निर्वाचित भएका हुन् भने दलिततर्फ मुक्तबहादुर महते यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धाबाट रामचन्द्र खड्का, लवश्री न्यौपाने, अर्जुनकुमार केसी, लेखबहादुर कार्की, दीपक खड्का, विनोद कार्की, निरोज खड्का, केशव महत, सुन्दर चालिसे र प्रकाश कटुवाल निर्वाचित भएका छन् ।
महिलातर्फ विनिता खड्का, चिना खड्का कार्की, एन्जिला न्यौपाने र उर्मिला कार्की निर्वाचित भएका छन् । श्रमिकतर्फ विष्णुकुमार घिसिङ, पेशागत तथा विषय विज्ञतर्फ नारायणकुमार घिमिरे, युवा महिलातर्फ ज्ञानु श्रेष्ठ तथा युवा खुलातर्फ उत्तमकुमार कार्की र विनोद बुढाथोकी निर्वाचित भएका छन् ।
त्यस्तै, अपाङ्गतातर्फ गुणराज भट्टराई ‘आकाश’, प्रजातान्त्रिक सेनानी तथा सहिद परिवारतर्फ आँधी लामा ‘सनक’ र अल्पसंख्यकतर्फ तोरण सुनुवार निर्वाचित भएका छन् । समानुपातिकतर्फ खस आर्य खुलाबाट काजीबहादुर खड्का ‘दिनेश’, कमान सिंह खड्का ‘दिपेन्द्र’ र सुरेश सुवेदी तथा खस आर्य महिलाबाट सिर्जना खड्का निर्वाचित भएका छन् ।
आदिवासी जनजाति खुलातर्फ नवराज थोकर, गेल्जे लामा शेर्पा र राजेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने जनजाति महिलातर्फ ज्योति सुनुवार, कुमारी हायु र रामकुमारी डाँगी निर्वाचित भएका छन् । समानुपातिक दलिततर्फ सन्ध्या घताने निर्वाचित भएकी छन् । दलिततर्फ मुक्तबहादुर महते यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १ सय ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार सम्पन्न निर्वाचनमा कुल १ हजार ७ सय ८४ मतदातामध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका थिए । यो कुल मतदाताको करिब ९५ प्रतिशतभन्दा बढी हो ।
नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरका अनुसार निर्वाचन तथा मतगणनाको सम्पूर्ण प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको छ । विभिन्न समूह र समावेशी क्लस्टरबाट प्रतिनिधित्व हुने गरी महाधिवेशन प्रतिनिधि चयन भएसँगै रामेछाप कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया पूरा भएको उनले जानकारी दिए ।
निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै रामेछाप कांग्रेसबाट १५औँ महाधिवेशनमा सहभागी हुने ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ । निर्वाचित प्रतिनिधिहरूले अब पार्टीको १५औँ महाधिवेशनमा रामेछापको प्रतिनिधित्व गर्नेछन् ।










