रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
महत कमेरो माटो लिन जान्छु भन्दै घरबाट निस्किनुभएको थियो । मंगलबार दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले उहाँको खोजी सुरु गरेका थिए ।
खोजी गर्ने क्रममा घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्को खसेको अवस्थामा फेला परेको थियो । ढिस्को पन्छाउने क्रममा आज दिउँसो करिब साढे १२ बजे महतको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









