रामेछाप । रामेछापको मन्थली माध्यमिक विद्यालयले देशको विद्यमान आर्थिक अवस्थाबारे विद्यार्थीलाई जानकारी गराउँदै अर्थतन्त्र सुधारमा योगदान पुर्याउने उद्देश्यले अर्थशास्त्रसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेको छ ।
विद्यालय परिसरमा आयोजित प्रदर्शनीको संघीय संसद् सदस्य तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उद्घाटन गर्नुभयो ।
विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष ओमबाबु पुरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाल, पत्रकार हिमाल ढुंगेल, अर्थ समितिका सभापति डा. बुढाथोकीका प्रमुख स्वकीय सचिव दिनेश सुवेदीलगायतले अर्थशास्त्रसम्बन्धी प्रदर्शनीको महत्वबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बुढाथोकीले विद्यालय तहदेखि नै बालबालिकालाई अर्थतन्त्रका विषयमा व्यवहारिक ज्ञान दिन सके त्यसले देशको आर्थिक अवस्था बुझ्न र भविष्यमा अर्थतन्त्र सुधारका लागि योगदान गर्न सक्षम जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्यार्थीले पाठ्यपुस्तकमा पढेका अर्थशास्त्रका विषयलाई व्यवहारिक तथा सिर्जनात्मक रूपमा प्रस्तुत गर्दा उनीहरूमा आर्थिक गतिविधि, उत्पादन, उपभोग, बचत, लगानी तथा देशको समग्र अर्थतन्त्रप्रति गहिरो बुझाइ विकास हुने उहाँको भनाइ थियो ।
विद्यालयले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा नमुना प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीमा अर्थशास्त्रप्रतिको रुचि बढाउनुका साथै आर्थिक विषयलाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।
Top of Form
Bottom of Form









