रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित भुजी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पूजादेवी सुनुवार, जो सधैँ अरूको घाउमा मलम लगाउनुहुन्थ्यो, अहिले आफैँ अस्पतालको शय्यामा छट्पटाइरहनु भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा जादै गर्दा उहाँ सवार मिनी ट्रक सोमबार देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो। उक्त दुःखद घटनामा टोलीका दुई जनाले ज्यान गुमाए भने पूजादेवीसहित सात जना घाइते हुनुभएको छ।
अहिले ६ जनासँग पूजादेवीको पनि काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा डाक्टरहरूको विशेष निगरानीमा उपचार भइरहेको छ। गाउँमा कसैलाई स्वास्थ्य समस्या पर्दा दिनरात नभनी सेवा गर्ने पूजादेवीको स्वास्थ्य अवस्थालाई लिएर अहिले सिङ्गो गाउँ चिन्तित बनेको छ। सेवाको कसम खाएर कर्तव्य पुरा गर्ने क्रममा गम्भिर घाइते हुनुभएकी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उहाँ फेरि स्वस्थ भएर आफ्नो कार्यक्षेत्रमा फर्कनुहोस् भन्ने प्रार्थना गाउँलेहरूले गरिरहेका छन्।









