रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो । गौरवको आयोजना अन्तर्गत भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु गरिएको पालिकाले जनाएको छ । पालिकाले असोज ३१ गते सूचना जारी गर्दै उपयुक्त जग्गा उपलब्ध गराउन इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ। सूचना अनुसार पहिल्यै वडा नं. ४ काला आहालमा जग्गासँगै लालपुर्जा समेत प्राप्त भएपनि विवाद भएपछि मुद्दा परेको थियो । त्यहाँ भवन बनाउन सम्भव नभएपछि पुन: जग्गा प्राप्तिको लागि आवेदन पेश गर्न पालिकावासीलाई आव्हान गरिएको सूचनामा उल्लेख छ । सूचनाामा पालिकाको मापदण्ड र निर्देशिका बमोजिम उपयुक्त जग्गा उपलब्ध गराउन भनिएको छ । जग्गा प्राप्ति भएपछि भवन निर्माण प्रकिया अघि बढ्ने पालिकाका अध्यक्ष केशव महतले बताउनु भयो । भवन निर्माणको लागि चालु आर्थिक बर्ष ३ करोड रुपैयाँ बिनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । अघिल्लो कार्यकालमा बन्न नसेको पालिकाको भवन आफ्नो कार्यकालमा बनाइछाड्ने उहाँको प्रतिबद्दता छ । पालिकाको भवन निर्माण भएपछि सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउ सकिनेछ, भने भाडाबापतको लाखौँ खर्च जोगिने छ । जग्गा प्राप्तिको लागि निम्न विषेशता हुनु पर्ने सूचनामा उल्लेख छ ।
१. क्षेत्रफलः कम्तिमा ६ रोपनी जग्गा हुनु पर्नेछ ।
२. गाउँपालिका केन्द्र धोवी बजारबाट प्रदान गर्ने सेवा सुविधामा कम्तीमा साठी प्रतिशत जनताको सहज पहुँज हुने गरि अधिकतम पाएक पर्ने स्थान पूर्वमा गाउँपालिकाको प्रस्तावित १५ सैयाको अस्पताल नागी डाडा, पश्चिममा – चित्रे जाने बाटो परिसरसम्म, उत्तरमा पर्खाली धारा र दक्षिणमा देवाली चौरसम्म ( झट्टेश्वरी मन्दिर) मुख्य बजारको केन्द्र भन्दा ५०० मिटरको दुरीमा हुनुपर्ने छ ।३. भौतिक पूर्वाधारःस्थानीय पूर्वाधार खानेपानी सञ्चार विद्युत जस्ता पूर्वाधार को उपलब्धता भएको हुनु पर्ने, खेतीयोग्य जग्गाको प्रयोग नगरी वैकल्पिक जग्गा प्रयोग गर्न सक्ने- सुरक्षाका दृष्टीले उपयूक्त सुरक्षित तथा रणनैतिक रुपमा महत्वपूर्ण स्थान हुनु पर्ने छ ।
४. व्यत्तिको नाममा दर्ता कायम भएको हुनुपर्ने छ ।
५. जग्गा दाताको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि आ.व.२०६२/०६३ को राजश्व बुझाएको रसिद, जग्गाको चार किल्ला प्रमाणित हुने ट्रेस नक्सा, जग्गाको क्षेत्रफल खुलाई उपलब्ध गराउन चाहेको प्रतिबद्धतापत्र जग्गा संगोलमा भएको भए सबै अंशियारहरुको मन्जुरीनामा पत्र सहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी समेत खाम बन्दी गरि पेश गर्नु पर्ने छ ।
६. माथि उल्लेखित शर्त समय तथा मापदण्ड भित्र पेश हुन आएका प्रस्तावहरु मात्र छनौटका लागि गाउँकार्यपालिकामा पेश गरिने छ ।
