रामेछाप । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्का आफ्नो गृहजिल्ला रामेछापबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेस रामेछापको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्काले ८ सय ११ मत प्राप्त गर्दै महिला खुलातर्फ पहिलो स्थानमा निर्वाचित भएकी हुन् । विभिन्न समूहबाट महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा खड्काले प्राप्त गरेको मत जिल्लाकै सर्वाधिक रहेको बताइएको छ ।
खड्कासहित रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । ३२ पदका लागि १ सय ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा १ हजार ७ सय ३ जनाले मतदान गरेका थिए । कुल १ हजार ७ सय ८४ मतदाता रहेकोमा करिब ९५ प्रतिशतभन्दा बढी मत खसेको थियो ।
महिलातर्फ खड्काले ८११ मत प्राप्त गर्दा चिना खड्का कार्की ७५९, उर्मिला कार्की ६१६ र एन्जिला न्यौपाने ५८१ मतसहित निर्वाचित भएका छन् । यससँगै बिनिता खड्का रामेछाप कांग्रेसबाट १५औँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रमुख नेतामध्ये एक बनेकी छन् ।
निर्वाचन तथा मतगणनाको सम्पूर्ण प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले जानकारी दिए । उनका अनुसार विभिन्न समूह र समावेशी क्लस्टरबाट प्रतिनिधित्व हुने गरी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
रामेछापबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्नेछन् । खड्काको सर्वाधिक मतसहितको विजयलाई उनको गृहजिल्ला रामेछापमा प्राप्त संगठनात्मक समर्थनका रूपमा हेर्न सकिने भए पनि त्यसको राजनीतिक अर्थबारे भने सम्बन्धित पक्षका आ–आफ्ना धारणा रहन सक्नेछन् ।










