हिमाल ढुंगेल
रामेछाप २८ चैत्र । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा गैरदलित महिलाहरू बाजा बजाउन अग्रसर भएका छन्। परम्परागत रूपमा दलित समुदायले मात्र बजाउँदै आएको बाजा अहिले गैरदलित महिलाहरूले पनि सिक्न र बजाउन थालेपछि गाउँमा सामाजिक परिवर्तनको सकारात्मक सन्देश फैलिएको छ।
स्थानीय महिलाहरूले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममा आफैं बाजा बजाएर सहभागी हुने उद्देश्यले बाजा सिक्ने अभियान सुरु गरेका हुन्। उनीहरूका अनुसार बाजा बजाउनु कुनै एक जातिको मात्र काम नभई सम्पूर्ण समुदायको सांस्कृतिक सम्पत्ति भएकाले यसलाई सबैले सिक्न र बजाउन सकिने विश्वासका साथ पहल थालिएको हो।
स्थानीय महिलाहरूले बाजा सिक्न थालेपछि गाउँमा नयाँ उत्साह देखिएको छ। यस पहलले महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउनुका साथै समाजमा विद्यमान जातीय विभेद हटाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएके स्थानीय केशव केसीले बताउनु भये । स्थानीय बासिन्दाका अनुसार महिलाहरूको यस कदमले गाउँमा समानता, सहकार्य र सामाजिक सद्भावको सन्देश फैलाएको छ।
यस पहललाई स्थानीय तहका जनप्रतिनिधि तथा समुदायले पनि सकारात्मक रूपमा लिएका छन्। उनीहरूले महिलाहरूको यस्तो प्रयासले सामाजिक चेतना बढाउने र परम्परागत सोचमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। माकादुममा सुरु भएको यो अभियानलाई ग्रामीण समाजमा समानता र महिला सशक्तीकरणको उदाहरण भएके तालिममा सहभागि महिलाहरूले बताएका छन् ।









