रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता दीपक खड्काले १५औँ महाधिवेशनका लागि जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएपछि खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।
शनिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस रामेछापका सचिवसमेत रहेका खड्काले यसअघि नै विभिन्न सार्वजनिक कार्यक्रममा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको स्मरण गर्दै अब त्यसबाट पछि नहट्ने बताए । उनले आगामी जिल्ला अधिवेशनमा युवाहरूको टिमको नेतृत्व गर्दै सभापति पदमा उम्मेदवारी दर्ता गर्ने जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ ३७ जनासँग प्रतिस्पर्धा गरेका खड्काले ७ सय ४१ मत प्राप्त गरेका थिए। उक्त मतसहित खुलातर्फ सर्वाधिक मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आफूलाई जिल्ला सभापतिका रूपमा अघि बढ्न थप उत्साह मिलेको उनले बताए ।
खड्काले पार्टीभित्र सहमतिको प्रयासलाई प्राथमिकता दिने बताएका छन् । अग्रज नेताहरूसँग सहमतिका लागि छलफल गर्ने र सहमति हुन नसके उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ। उनले भने, ‘अग्रजहरूसँग सहमतिका लागि प्रयास गर्छौँ, नमिले उम्मेदवारी दर्ता गर्न अब रोकिँदैन ।’
आफूलाई जिल्ला सभापतिमा उम्मेदवार बनाउने विषयमा यसअघि आफ्नै नेतृत्वमा बनेको समूहभित्र समेत पर्याप्त छलफल भइसकेको खड्काले बताए । उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवालाई नेतृत्वमा अघि बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिन लागेको बताए ।
नामाडी निवासी खड्काले १५औँ महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेर पराजित भएका नेता तथा कार्यकर्तालाई निराश नभई पार्टीको काममा थप सक्रिय हुन आग्रह गरे। पार्टीमा निरन्तर काम गर्ने कार्यकर्ताले एक न एक दिन न्याय पाउने उनको विश्वास छ ।
आफ्नै राजनीतिक यात्राको उदाहरण दिँदै खड्काले १३औँ महाधिवेशनमा आफू कोषाध्यक्ष पदमा पराजित भए पनि पार्टीको काममा निरन्तर सक्रिय रहँदा १४औँ महाधिवेशनमा सचिव पदमा निर्वाचित हुन सफल भएको बताए । उनले भने, ‘१३औँ महाधिवेशनमा म आफैँ कोषाध्यक्षमा हारेँ, तर पार्टीको काममा लागि रहेँ र १४औँमा सचिव पदमा जित्न सफल भएँ। पराजित हुनुभएका साथीहरूको राजनीतिक यात्रा अझै लामो र सक्रिय बन्ने हो ।’
गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्षसमेत रहेका खड्काले पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिँदै आगामी जिल्ला नेतृत्वका लागि युवाहरूलाई संगठित गरेर अघि बढ्ने संकेत गरेका छन् । जिल्ला सभापतिमा उनको उम्मेदवारी घोषणासँगै कांग्रेस रामेछापको आगामी नेतृत्व चयनमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।










