सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष समारोहको आयोजना गरी ६६ जना उत्तीर्ण विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गर्न लागेको हो ।
विद्यालयको गौरव अभिवृद्धि गर्ने उत्कृष्ट विद्यार्थीहरू र शैक्षिक उन्नयनमा अहोरात्र खटिएका शिक्षकहरूको हौसला बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
उक्त विशेष सम्मान कार्यक्रममा नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र पूर्व शहरी विकास मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यता रहनेछ । यस्तै, कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको विशेष आतिथ्यता रहने बताइएको छ ।
डहु माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने उक्त गरिमामय कार्यक्रममा सम्पूर्ण उत्तीर्ण विद्यार्थी, आदरणीय अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन विद्यालय परिवारले हार्दिक अनुरोध गरेको छ ।









