रामेछाप । मेछापको सदरमुकाम मन्थलीमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा विस्तारलाई तीव्रता दिँदै जिल्लाका आठवटै स्थानीय तहमा आयुर्वेदिक सेवा पुर्याउने लक्ष्य अघि सारेको छ। आयुर्वेदिक उपचारप्रति नागरिकको बढ्दो आकर्षणसँगै चिकित्सालयले आफ्नो पहुँच विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
२०८२ चैत १७ गते आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा चिकित्सालयले हालसम्मका उपलब्धि, सेवा विस्तारको अवस्था र आगामी योजनाबारे विस्तृत जानकारी गराएको हो। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको समन्वयमा सम्पन्न कार्यक्रममा आयुर्वेद सेवाको प्रभावकारिता र चुनौतीबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार रामेछापमा आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। चिकित्सालय प्रमुख दीपक कार्कीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म ६ हजार १८१ जनाले चिकित्सालयबाट सेवा लिएका छन्। यस अवधिमा आयुर्वेद औषधालयमार्फत ९७१ जना र नागरिक आरोग्य सेवा केन्द्रमार्फत ३ हजार २३५ जनाले सेवा लिएका छन्।
विगत वर्षहरूको तथ्यांकले पनि आयुर्वेद सेवाप्रति बढ्दो विश्वास देखाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ८ हजार ८४६ जनाले चिकित्सालय सेवा लिँदा १ हजार ६६८ जनाले आयुर्वेद औषधालय र ३ हजार ६१२ जनाले नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा लिएका थिए। त्यस्तै २०८०/०८१ मा ५ हजार ७८४ जनाले चिकित्सालय सेवा, १ हजार १८६ जनाले औषधालय र ३ हजार ९४७ जनाले आरोग्य सेवा केन्द्रबाट सेवा लिएका थिए।
हाल जिल्लामा एक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, एक आयुर्वेद औषधालय र पाँच वटा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् भने थप दुई केन्द्र स्थापना प्रक्रियामा छन्। पछिल्लो समय ओपीडी तथा फलोअप सेवामा बिरामीको संख्या निरन्तर बढ्दो क्रममा रहेको चिकित्सालयले जनाएको छ।
चिकित्सालयले पंचकर्म, शल्य चिकित्सा, योग सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपञ्चर, प्रयोगशाला तथा फिजियोथेरापी लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै मर्मथेरापी, विद्यकर्म र अग्निकर्म जस्ता नयाँ सेवा समेत सञ्चालनमा ल्याइएको छ, जसले वैकल्पिक उपचारप्रति नागरिकको आकर्षण थप बढाएको छ।
चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले आयुर्वेदिक सेवाप्रति बढ्दो विश्वासका कारण यसको पहुँच गाउँ–गाउँसम्म विस्तार गर्नु आवश्यक भएको बताए। उनले यसै आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यअनुसार काम अघि बढिरहेको जानकारी दिए।
“मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत चालु आर्थिक वर्षका लागि ७० हजार रुपैयाँ बजेट विनियोजन भएको र फागुन मसान्तसम्म करिब ५२.८ प्रतिशत बजेट खर्च भइसकेको पनि कार्यक्रममा जानकारी दिइयो।
चिकित्सालयले नियमित रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै जिल्लाभर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा विस्तार गर्दै आएको छ। यद्यपि भौतिक पूर्वाधार अभाव, उपकरणको कमी तथा जनशक्ति व्यवस्थापन चुनौतीका रूपमा रहेका छन्। आफ्नै भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या देखिएपछि मन्थली नगरपालिकाले उपलब्ध गराएको संरचनाबाट सेवा सञ्चालन गरी व्यवस्थापन सुधार गरिएको जनाइएको छ।
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले सेवाको पहुँच, गुणस्तर र प्रभावकारिताबारे प्रश्न उठाउँदै थप सुधार आवश्यक रहेको सुझाव दिएका थिए।
बढ्दो बिरामी संख्या, सेवा विस्तारको पहल र जनविश्वासले रामेछापमा आयुर्वेद तथा वैकल्पिक उपचार प्रणालीको प्रभावकारिता क्रमशः सुदृढ बन्दै गएको देखिएको छ।









