रामेछाप ४ चैत्र । रामेछाप जिल्लामा उत्पादित जुनारको मूल्य यतिबेला आकासिएको छ। बजारमा माग बढेसँगै जुनारको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँसम्म पुगेको कृषक तथा व्यापारीहरूले बताएका छन्।
जुनारके सिजन सकिएसंगै बजारमा माग उच्च रहेकाले मूल्य बढेको बताइन्छ। किसानहरूका अनुसार एक महिना अगाडिसम्म जुनारको मूल्य ५० देखि ८० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुने गरेकामा अहिले भने मूल्य उल्लेखनीय रूपमा बढेको हो।
जिल्लाका विभिन्न स्थानमा उत्पादित जुनार अहिले स्थानीय बजारसँगै राजधानीका बजारहरूमा पनि पठाइँदै आएको छ। गर्मि मौसम सुरु भएसँगै जुनारको खपत बढ्ने भएकाले व्यापारीहरूले समेत किसानसंग उच्च मूल्यमा खरिद गरिरहेका छन्। अहिले जुनारके सिजन सकिएकाले चिस्यान केन्द्रमा संकलन गरेर राखेके जुनार महगेंमा बिक्रि भइरहेके जुनार किसान पदम लामा बताउनुहुन्छ । उचित मूल्य पाउन थालेपछि जुनार किसानहरू उत्साहित बनेका छन्। रामेछापमा उत्पादन हुने जुनार स्वाद र गुणस्तरका कारण देशका विभिन्न स्थानमा लोकप्रिय मानिन्छ।
रामेछाप जिल्लालाई जुनार उत्पादनका लागि प्रसिद्ध मानिन्छ। जिल्लाका विभिन्न पालिकामा व्यापक रूपमा जुनार खेती हुँदै आएको छ, जसले किसानहरूको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।









