रामेछापको दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दोरम्बा शैलुङका बमबहादुर नगरकोटी र सुकदेव गौतमको घरको ताल्चा फुटाएर नगद, सुनको तिलहरी र ल्यापटप चोरी गर्ने आटी तामाङ र फेमस तामाङलाई प्रहरीले चोरीका सामानसहित रङ्गेहात फेला पारेको हो। वडा अध्यक्ष र स्थानीयको सहयोगमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई खोलाखर्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, लिखु तामाकोशी–६ खिम्ती बजारस्थित बद्रीबहादुर थापाको चिया पसलबाट करिब १७ हजार बराबरको मदिरा र पेय पदार्थ चोरी गरेको आरोपमा २१ वर्षीय विनोद थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। फागुन २८ गते भएको उक्त चोरीको घटनामा संलग्न थापामाथि जिल्ला प्रहरी कार्यालयमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।









