मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु
रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार दोलखाको भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सन्जित तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि अस्पतालका चिकित्सकले राति ९ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गाडी चालक सोही स्थानका ३० वर्षीय प्रदिप लामाको ढाडमा सामान्य चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनुभएको छ ।










