रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ।
नेपाल प्रेस युनियन रामेछाप शाखाको ५औँ जिल्ला अधिवेशन तथा १०औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले आफ्नी स्वर्गीय दिदी शान्ति देबी श्रेष्ठको स्मृतिमा ‘शान्ति देबी श्रेष्ठ ऊर्जाशील युवा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गर्नुभएको हो।
नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष तथा फेनिज बागमती प्रदेशका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले पत्रकारिता क्षेत्रमा सक्रिय रहँदा प्राप्त गरेका विभिन्न पुरस्कारको रकमबाट उक्त अक्षय कोष स्थापना गरेके बताउनुभयो।
राज्यको चौथो अङ्गका रूपमा पत्रकारिता क्षेत्रले जनताका आवाज उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले पत्रकारहरूले विभिन्न चुनौती र जोखिमका बीच आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो।
प्रेस युनियन रामेछापको इतिहासमै पहिलोपटक पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरिएको युनियनले जनाएको छ।










