काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । बुधबार मन्त्रालयले गरेको निर्णयअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसहित नख्खु कारागारका जेलरको पनि सरुवा गरिएको हो ।
निर्णयअनुसार काठमाडौंमा छविलाल रिजाललाई नयाँ सीडीओका रूपमा खटाइएको छ । त्यस्तै, ललितपुरमा सहसचिव सुमन घिमिरे र भक्तपुरमा सहसचिव नमराज घिमिरेलाई जिम्मेवारी दिइएको छ । यसअघि काठमाडौंका सीडीओ रहेका ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ ।
यस्तै, ललितपुरस्थित नख्खु कारागारका जेलर भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ । गृह मन्त्रालयले सरुवा प्रशासनिक व्यवस्थापन र कार्यसञ्चालनलाई प्रभावकारी बनाउन गरिएको जनाएको छ ।









