काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता गर्ने प्रस्ताव तत्कालै अघि नबढाउने भएका छन्। राना अमेरिकामा रहेकाले उनी १३ भदौमा फर्केपछि मात्र प्रस्ताव दर्ता गर्ने सहमति भएको हो। संसदीय स्रोतका अनुसार प्रस्ताव १३ गते दर्ता गरी १९ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ। प्रस्ताव दर्ता भएको सात दिनभित्र टुंग्याउनुपर्ने संवैधानिक प्रावधान रहेकाले राना नेपालमै भएको बेला प्रक्रिया अघि बढाउने निर्णय भएको हो। यसअघि मंगलबार कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका थिए। तर तत्काल दर्ता गर्दा कानुनी र प्रशासनिक झमेला आउने भएकाले केही दिन पर सारिएको एमाले नेताहरूले जनाएका छन्।
भिजिट भिसा प्रकरणका कारण सदनमा विरोध भइरहेको बेला उपसभामुखमाथि असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान पत्र लेखेको आरोप लागेकाले उनको पद नै प्रश्नमा परेको छ। तर, एमाले प्रमुख सचेतक महेश बर्तौलाले तत्काल प्रस्ताव दर्ता नगर्ने तर विषय संसद्मा उठ्नैपर्ने बताएका छन्।









