रामेछाप । सरकारले आगामी बैशाख ३० गते गर्न लागेको स्थानिय तहको निर्वाचनको निर्वाचन आयोगले रामेछापका ८ वटै स्थानिय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
स्थानिय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको रुपमा मन्थली नगरपालिकामा डा.दिवाकर भट्ट र रामेछाप नगरपालिकामा जिल्ला प्रशासन कार्यालय रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ्गलाई खटाएको छ । त्यसैगरी जिल्लाको अन्य ६ वटा गाउँपालिकाहरुमा पनि निर्वाचन अधिकृत तोकिएको छ ।
जसमा उमाकुण्ड गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता योगेन्द्र प्रसाद ढुंगेल, खाँडादेवी गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौंका उपन्यायाधिवक्ता वासुदेव लम्साल र दोरम्वा शैलुङ्ग गाउँपालिकामा बिशेष सरकारी वकील कार्यालय काठमाण्डौंका उपन्यायाधिवक्ता प्रेमराज पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
त्यस्तै गोकुलगंगा गाउँपालिकामा रामेछाप जिल्ला अदालतका श्रेष्तेदार रामप्रसाद पौडेल, लिखु तामाकोशी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव महेन्द्र कुमार सापकोटा र सुनापति गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंका उप–न्यायाधिवक्ता लक्ष्मण उपाध्याय (घिमिरे) लाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।
रामेछापमा १ लाख ७९ हजार मतदाता कायम
रामेछाप । रामेछापमा आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा १ लाख ७८ हजार ८ सय ६७ जना मतदाताले मतदानमा भाग लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले स्थानिय तहमा मतदान गर्ने मतदाताको सूची प्रकाशन गरेसँगै रामेछापको ८ वटै स्थानिय तहमा मतदानमा सहभागी हुने मतदाताको संख्या एकिन भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए । रामेछापमा ८ वटा स्थानिय तहहरु मध्ये उमाकुण्ड गाउँपालिकामा १६ हजार २ सय ४६ जना, खाँडादेवी गाउँपालिकामा २२ हजार ४ सय जना मतदाता कायम भएको छ ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकामा १८ हजार ५ सय २१ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकामा २० हजार ९ सय ३४ जना, मन्थली नगरपालिकामा ३७ हजार २ सय २० जना, रामेछाप नगरपालिकामा २४ हजार ९ सय ३१ जना मतदाता कायम भएका छन् । त्यस्तै सुनापति गाउँपालिकामा १८ हजार ५ सय १६ जना र लिखु तामाकोशी गाउँपालिकामा २० हजार १ सय जना गरी कुल १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ९२ मतदान स्थल र २२३ मतदान केन्द्र कायम
रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि रामेछापमा ९२ मतदान स्थल र २२३ मतदान केन्द्र रहने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आयोगमा सिफारिस गरेको आधारमा निर्वाचन आयोगले रामेछापका मतदान स्थल र मतदान केन्द्रको टुङ्गो लगाएको हो । रामेछापको ८ वटा स्थानिय तहहरु मध्ये ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा १४ मतदान स्थल र ३१ मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै १४ वटा वडा रहेको मन्थली नगरपालिकामा १९ मतदान स्थल र ४७ वटा मतदान केन्द्र कायम गरिएको छ ।
त्यसैगरी अन्य ६ वटा गाउँपालिकाहरु मध्ये ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिमामा ११ वटा मतदान केन्द्र र २२ वटा मतदान स्थल तोकिएको छ । त्यस्तै ९ वटा वडा कार्यालय रहेको खाँडादेवी गाउँपालिकामा १२ वटा मतदान स्थल र २७ मतदान केन्द्र तोकिएको छ । त्यसैगरी ७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकामा १० वटा मतदान स्थल र २६ मतदान केन्द्र, ७ वटा वडा रहेको दोरम्वा शैलुङ्ग गाउँपालिकामा ११ वटा मतदान स्थल र २७ वटा मतदान केन्द्र तोकेको छ भने ७ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा ६ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए ।