रामेछाप । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा कुनै पनि राजनितिक दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको भए पनि समन्वय प्रमुखले भने आफ्नो पार्टी नेकपा एमालेका बिभिन्न कार्यक्रम भने गर्न दिएर अन्य राजनितिक दलहरूलाई भने अकुशं लगाउँदै आएका छन् ।
जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा नेकपा एमालेको तर्फवाट निर्वाचित भएदेखी यता प्रेमवहादुर खड्काकै अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका कुनै पनि राजनितिक दलका कार्यक्रमहरु जिल्ला समन्वय समितिको सभाहलमा गर्न नदिने निर्णय गरेको थियो । तर उक्त निर्णय लत्याउँदै समन्वय प्रमुख खड्काले नेकपा एमालेका विभिन्न कार्यक्रमहरु सोही सभाहलमा गर्दै आएका छन् ।
मंगलवार रामेछापको सदरमुकाम मन्थली आइपुगेका नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाशप्रसाद ढुंगेलको उपस्थितीमा पार्टी र जनवर्गिय संगठनका अगुवा कार्यकर्तासँग अन्तक्रीय कार्यक्रम जिल्ला समन्वय समितिको आयोजना गरेको हो । यसअघि पनि नेकपा एमालेले पार्टीका विभिन्न कार्यक्रमहरु जिल्ला समन्वय समितिको सभाहलमा गर्दै आएको छ ।
नेकपा एमालेले राष्ट्रपति देखी जिल्ला समन्वय समितिसम्म जर्बजस्त रुपमा थिचोमिचो गर्दै संविधानलाई नै मिच्ने हिसाबले काम गर्दै आएको आरोप नेपाली काँग्रेस रामेछापका पार्टी सचिब लेखबहादुर कार्कीले लगाए । उनले भने– यसको प्रत्यक्ष उदाहरण पछिल्लो समय रामेछाप जिल्ला समन्वय समितिले गर्दै आएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले आफ्नो पार्टीको अनुकुल हुने कार्यक्रम समन्वयको सभाहलमा गर्न दिएर अन्य राजनितिक दललाई अकुशं लगाउने जुन प्रयत्न गरेका छन् । समन्वय प्रमुखको यो कार्य अतिनै गैरजिम्वेवारी पूर्ण, निन्दनीय र खेदजनक रहेको बताए ।
त्यसैगरी सचिब कार्कीले भने– समन्वय प्रमुख भनेको एउटा पार्टीको मात्रै हैन । आफ्नो पार्टी नेकपा एमालेको जुनसुकै कार्यक्रम गर्न दिने प्रमुखले अन्य दलको कार्यक्रमलाई बन्देज गर्ने जुन काम गरेका छन् यसको हिसावकिताब नेपाली काँग्रेसले गर्छ । केही समयपछि नेपाली काँग्रेसको जिल्ला अधिवेशन आउँदैछ । त्यस अधिवेशन गर्न हाम्रो पार्टीको तर्फवाट जिल्ला समन्वयको सभाहल र प्राङ्गण माग गर्छौ । यदी समन्वय प्रमुखले त्यसवेला सभाहल र प्राङ्गण दिएनन् भने पार्टीको तर्फबाट लेनादेनाको हिसाब शुरु गर्ने पनि सचिव कार्कीले बताए ।
जिल्ला समन्वय समितिले गरेको निर्णयको विरुद्ध कार्यालयको सभाहल नेकपा एमालेको पार्टीको वैठक,अन्तक्रीया लगाएतका कार्यक्रममा दिने र अन्य राजनितिक दलहरुलाई अंकुश लगाएको बिषयमा जिल्ला समन्वय समिति रामेछापका जिल्ला समन्वय अधिकारी झनककुमार खत्रीसँग सम्र्पक गर्दा उनले यो बिषयमा आफुलाई कुनै जानकारी नै नभएको बताए ।
यता समन्वय प्रमुख प्रेमवहादुर खड्काले भने नेकपा एमालेको अन्र्तक्रिया कार्यक्रम भएको तर पार्टीको कुनै झण्डा नै नराखी कार्यक्रम गरेको स्वीकारे । उनले भने– हामीले पार्टीको झण्डा राखेर कार्यक्रम गरेका छैनौं । विकास निमार्णका कार्यक्रमका बिषयमा सबै राजनितिक दल आवद्ध कार्यक्रमलाई सभाहल उपलव्ध गराउने तर एउटा राजनितिक दलको कार्यक्रमलाई हल नदिने निर्णय भएको छ । आज बिहान भएको कार्यक्रमको बिषयमा क–कसले फेसबुकमा हाले होलान । यस बिषयमा आफुलाई जानकारी नभएको प्रमुख खड्काले बताए ।