नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो ।
राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल संघको कार्यसमिति बैठकले निरुतालाई कप्तानको जिम्मेवारी दिने निर्णयलाई अनुमोदन गरेको हो । राष्ट्रिय टोलीको कप्तानीको दौडमा अहिले टोलीमा रहेका सिनियर खेलाडीहरू उषा भण्डारी र सलिना श्रेष्ठ पनि बलियो दाबेदारका रूपमा रहनुभएको थियो ।
यद्यपि, अन्य दाबेदार खेलाडीहरूभन्दा उमेरको हिसाबले परिपक्व र अन्तर्राष्ट्रिय खेलहरूको पर्याप्त अनुभव भएका कारण भलिबल संघले निरुतालाई कप्तानीको महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो । नयाँ कप्तानको कुशल नेतृत्वमा नेपाली महिला भलिबल टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थप उत्कृष्ट प्रदर्शन गर्ने विश्वास संघले लिएको छ ।









