रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
जिल्ला खेलकुद विकास समिति, रामेछापका अध्यक्ष सिताराम कार्कीले प्रतियोगितामा जिल्लाका पाँचवटा स्थानीय तहका ५ सय ४५ जना खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाबाट १४५, लिखु तामाकोसीबाट १२५, दोरम्बा शैलुङ्गबाट १०५, सुनापातीबाट ९० र आयोजक खाँडादेवी गाउँपालिकाबाट ८० जनाको सहभागिता सुनिश्चित भएको छ ।
कक्षा १२ को परीक्षालाई कारण देखाउँदै रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले भने यस वर्ष प्रतियोगितामा सहभागी नहुने जानकारी गराएका छन् ।
तीन दिनसम्म चल्ने सो खेलकुद उत्सवमा भलिबल, कवडी, तेक्वान्दो, उस्सु, कराते र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको खाँडादेवी गाउँपालिकाले खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानीय स्तरमा खेलकुदको विकास र युवा प्रतिभा पहिचानका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास लिइएको छ









