रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा प्रसन्नता झल्किन्छ ।
किसानहरूका अनुसार यस वर्ष समयमै वर्षा भएको र रोग–कीरा कम लागेको कारण उत्पादन १०–१५ प्रतिशतले बढेको छ । रामेछाप नगरपालिका–७ का कृषक रामकुमार कार्की भन्छन्, “यसपालि दाना ठूलो छ, रसिलो छ, बजार मूल्य पनि राम्रो हुने आशा छ। व्यापारीहरूको आगमन बढेकाले उत्साह थपिएको छ ।”
जुनार रामेछापको मुख्य आय–स्रोतहरूमध्ये एक बनेको छ। यहाँबाट ढुवानी हुने जुनार काठमाडौंदेखि तराईका विभिन्न बजारमा पु¥याइने गरेको छ ।
यससँगै पछिल्ला वर्षहरूमा जुनारको जुस उद्योग विस्तार भएसँगै किसानदेखि कामदारसम्म सबैमा नयाँ उत्साह देखिएको छ । जुस उद्योग चलेपछि किसानमा ‘जुनार नबिक्ला कि’ भन्ने चिन्ता हटेको छ भने स्थानीय बासिन्दाले घरमै रोजगारी पाउने अवसर पाएका छन् ।
मन्थली डिलक्स एग्रो फरेस्ट्रीले मात्र यस सिजनमा ७० भन्दा बढी कामदारलाई बोक्रा तास्ने, जुस निकाल्ने र स्टोर गर्ने काममा संलग्न गराएको छ । कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठ भन्छन्, “हामी अहिले बगैँचाबाट जुनार ल्याएर बोक्रा निकाल्दै, पेलेर जुस निकाल्दै र स्टोर गर्दैछौँ । गर्मी सुरु भएपछि प्रशोधन गरेर बजार पठाउनेछौँ ।”
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापका अनुसार जिल्लामा व्यावसायिक जुनार खेती द्रुत गतिमा फैलिएको छ। आधुनिक प्रविधि, रोग नियन्त्रण र मल व्यवस्थापनको कारण उत्पादन र गुणस्तर दुवैमा सुधार आएको प्राविधिकहरूले बताएका छन् । गत वर्ष ६४० हेक्टर क्षेत्रफलमा ४ हजार मेट्रिक टन जुनार उत्पादन भई किसानहरूले करिब २० करोड रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ ।
जुनार पाकेपछि गाउँको हावा नै मीठासले भरिएको किसानहरूको अनुभव छ। बगैँचामा तस्बिर खिच्न आउने युवाहरूको उपस्थितिले वातावरण थप जीवन्त बनेको कृषक शेरबहादुर तामाङ बताउँछन् ।
उत्पादन वृद्धि, जुस उद्योग विस्तार र स्थानीय रोजगारीका अवसर बढ्दै जाँदा रामेछापको कृषि–अर्थतन्त्रमा सहयोग पुग्ने स्थानियले अपेक्षा समेत गरेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









