रामेछाप । रामेछापको सदरमुकाम मन्थली–खिम्ती सडकखण्ड भासिएपछि आवागमन ठप्प भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिक करिब २० मिटर सडक भासिएपछि बुधबार बिहानैदेखि ठूला सवारी साधन आवत–जावत बन्द भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार हाल साना सवारी, अटो र मोटरसाइकल मात्रै आवागमन गर्न सकिरहेका छन् भने बस तथा ट्रकजस्ता ठूला सवारी साधन रोकिएका छन् । उनले तत्कालै मर्मतकार्य सुरु भइसकेको जनाउँदै केही घण्टाभित्रै सडक सञ्चालनमा आउने आशा गरिएको बताए ।
गत वर्ष पनि सोही स्थानमा लेदो पसेर सडक भासिएको थियो । त्यसबेला जालीसहितको वाल उठाएर अस्थायी मर्मत गरिएको भए पनि यस वर्ष तामाकोशी नदीको कटानका कारण सडक फेरि भासिएको हो ।
सदरमुकाम मन्थलीसँग जोडिने प्रमुख सडक अवरुद्ध भएपछि उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानीतर्फ गएका यात्रुहरू बिचमै अलपत्र परेका छन् ।









