रामेछाप । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ।
वडा कार्यालयको पहलमा निर्माण गरिएको पार्कले फर्पु क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप उजागर गरेको स्थानीयवासीहरू बताउँछन्। हरियाली वातावरण, खुला स्थान र रमणीय दृश्यका कारण पार्कमा दैनिक रूपमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आउने आगन्तुकहरूको संख्या बढ्दै गएको छ।
गोकुलगंगा गाउँपालिका–६ का वडा अध्यक्ष चन्द्र सुनुवार ले पार्क निर्माणपछि क्षेत्रको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव परेको बताउनुभयो। उहाँका अनुसार पार्कमा धेरैजसो पिकनिक तथा घुमघामका लागि गाउँलेहरू र आसपासका क्षेत्रका युवा–युवतीहरू आउने गरेका छन्।
“पार्क निर्माणसँगै यहाँको आकर्षण बढेको छ। बिदाको दिन तथा विशेष अवसरहरूमा युवायुवती, परिवार र विभिन्न समूहहरू पिकनिक तथा मनोरञ्जनका लागि आउने गरेका छन्,” वडा अध्यक्ष सुनुवारले भन्नुभयो।
स्थानीय तहले पर्यटनलाई गाउँको आर्थिक विकाससँग जोड्ने लक्ष्यसहित पार्क निर्माण गरेको जनाएको छ। पार्कमा आउने आगन्तुकहरूको संख्या बढ्दै गएपछि स्थानीय व्यवसायलाई समेत प्रत्यक्ष फाइदा पुग्न थालेको स्थानीयहरूको भनाइ छ।
फर्पुको प्राकृतिक सौन्दर्य र पार्कको आकर्षणले यस क्षेत्रलाई आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय सरकारको यस्तो प्रयासले गाउँको पहिचान स्थापित गर्नुका साथै पर्यटनमार्फत आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
Top of Form
Bottom of Form









