रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल टेलिभिजनका पत्रकार हिमाल ढुंगेल र हजुरकाे रेडियाेकी पत्रकार ललिता हायू रहनुभएको छ।
फोनिज रामेछापको १३औँ वार्षिक साधारणसभाको अवसरमा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पत्रकार ढुंगेललाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्नुभएको हो।
सोही अवसरमा ‘फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट पत्रकार ललिता हायु पनि सम्मानित हुनुभएको छ। उहाँलाइ पनि नगद, प्रमाण पत्र र देसल्ला सहित सम्मान गरिएके छ । कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा फोनिज बागमती प्रदेशका अध्यक्ष युबराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे, पूर्व अध्यक्ष बद्री नयाँघरे लगायतले शुभकामना मन्तव्य राख्नु भएके थिये ।
खोज तथा जनसरोकारका विषयलाई पत्रकारितामार्फत उजागर गर्दै समाजमा पुर्याएको योगदानको कदरस्वरूप ढुंगेललाई खोज पत्रकारिता वर्ष पुरस्कार प्रदान गरिएको फोनिज रामेछापले जनाएको छ। यस्तै, आदिवासी जनजाति समुदायका सवाल र सरोकारका विषयलाई पत्रकारितामार्फत उठाउँदै आएको योगदानका लागि हायुलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गरिएको हो।
सम्मानपछि पत्रकार ढुंगेलले पुरस्कारले आफूलाई पत्रकारिताप्रतिको जिम्मेवारी अझ गम्भीरताका साथ निर्वाह गर्न प्रेरित गरेको बताउनुभयो। उहाँले समाजका महत्वपूर्ण तथा ओझेलमा परेका विषयलाई निरन्तर पत्रकारितामार्फत उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
फोनिज रामेछापले जिल्लामा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्नुका साथै खोज पत्रकारिता र आदिवासी जनजातिका सवाललाई प्राथमिकताका साथ उठाउन प्रेरित गर्ने उद्देश्यले वर्षेनी विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ।










