रामेछाप । केही दिनदेखी लगातार रुपमा आएको वर्षाले खानेपानीको मुहानमा पहिरो गई क्षती पुर्याउँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या हुँदै आएको छ ।
वर्षादका कारण आएको बाडीले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति पुर्याएको छ । त्यस्तै वर्षादका कारण ठाउँठाउँमा पहिरो जाँदा सदरमुकाम मन्थली तर्फ ल्याइएको मेन लाइन पाइप बगाएको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको मचवारी खोला मुहानमा बनाइएको ट्याङ्की र पाइपलाइनमा पनि क्षती पुगेको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ब्यवस्थापक जगदीश सुबेदीले जानकारी दिए ।
उनले भने– लगातारको वर्षादको कारण खानेपानीका धेरै मुहानमा क्षती पुगेको छ । ठाउँठाउँमा पहिरो गएको छ । खोलाले मेन लाइनको पोलिथिन पाइप बगाएको र धेरै ठाउँमा बगाएको पाइप खोज्न र मर्मतसम्भार गर्न समय लाग्ने भएकाले केही समय पानी बितरण गर्न समस्या भएको छ । भलुवाजोरमा रहेका दुईवटा मुहान मर्मत पछि पानी नियमित आउन थालेको भएता पनि सुनारपानी तर्फको पाइप लाइन मर्मत सम्भार अझै हुन सकेको छैन् ।
सुनारपानीको मचवारी मुहान गरि मन्थली ल्याइएको पानीको मुहानमा पहिरोले धेरै क्षती पुर्याएकाले अहिले मर्मतको काम भइरहेको छ । मचवारी मुहान हुँदै ल्याएको पानीको पाइप धेरै ठाउँमा बगाएको र केही ठाउँमा पोलिथिन पाइप फुटेकाले मर्मतको काम अघि वढाइएको हो । त्यस क्षेत्रको काम सकिनासाथ पानी नियमित हुने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव ढाकल थापाले जानकारी दिए ।
उनले भने– यस वर्षको वर्षादका कारण मन्थली खानेपानी उपभोक्ता समितिले धेरै ठूलो क्षती व्यहोर्नु पर्यो । धेरै ठाउँमा खानेपानी लाइन बगाएको छ । ठाउँठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट््याङकी बगाएको छ भने केही पुरेको छ । जसले गर्दा सबै मर्मत सम्भार गर्न समय लाग्ने भएकाले उपभोक्ताहरुलाई नियमित र तोकिएको समयमा पानी बितरण गर्न समस्या भएको छ । केही दिन भित्रै पहिलाकै तालिका अनुसार उपभोक्तालाई पानी बितरण गर्ने बताए ।
सदरमुकाम मन्थलीमा हाल सुनारपानीको मचवारी, भलुवाजोरको लामपाटे र कमेरेखोला मुहानको पानी साथै तामाकोशी नदी किनारमा निमार्ण गरिएको इनारवाट विद्युतीय माध्यवाट तानेर उपभोक्ताहरुलाई बितरण गरिदै आएको छ । मन्थली खानेपानी उपभोक्ता समिति मार्फत खानेपानी उपभोग गर्दै आएका ९ सय ४२ जना सदस्यहरु रहेका छन् ।
जसमध्ये व्यक्तिगत धारा जडान गर्ने संख्या ८ सय ९२ जना रहेका छन् भने सरकारी कार्यालयमा धारा जडान भएको संख्या ३५ वटा रहेको छ । यसवाहेक सदरमुकाम मन्थलीमा रहेका विभिन्न संघ÷संस्थाहरुमा धारा जडान भएको संख्या १४ वटा रहेको छ भने अत्तिरिक्त सार्वजनिक धारा १ वटा रहेको मन्थली खानेपानी उपभोक्ता समिति रामेछापले जनाएको छ ।