काठमाडौं । ओमानमा जारि एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा को अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो ।
नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।
नेपालका लागि दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल २१ बलमा अविजित ६४ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा कतारका बलर कमरान खानको बलमा लगातार ६ वटा छक्का हानेका थिए ।