रामेछाप, असार ९। रामेछाप जिल्लाको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा करिब ४ प्रतिशतले वृद्धि भएको बजेट हो।
सोमबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नुभएको हो। अधिवेशनमा नगरप्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, १४ वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगर कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उपप्रमुख बस्नेतका अनुसार, चालु आर्थिक वर्ष ०८१/८२ मा १ अर्ब १ करोड ९७ लाख ८१ हजार रुपैयाँको बजेटमध्ये ८७ प्रतिशत निकासा भएको छ। हालसम्म ६७.९४ प्रतिशत बजेट खर्च भएको र उपलब्ध आम्दानीको आधारमा हेर्दा ७८.३७ प्रतिशत खर्च भइसकेको बताइएको छ।
यस वर्षको बजेट स्रोततर्फ हेर्दा, बैंक मौज्दात ५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट ३ करोड २७ लाख ५ हजार रुपैयाँ र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय राजस्व बाँडफाँडबाट १८ करोड २ लाख २२ हजार २०२ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। बाँकी रकम विभिन्न शीर्षकअनुसार संघीय र प्रदेश सरकारबाट प्राप्त हुने बजेट र योजनाहरु मार्फत पूर्ति गरिनेछ।
संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कबाट ११ करोड ५० लाख ३ हजार ५८८ रुपैयाँ, प्रदेश सरकारबाट सवारी करबाट ४ करोड ९३ लाख ६८ हजार ६१४ रुपैयाँ, र स्थानीय तहबाट घरजग्गा रजिष्ट्रेशन दस्तुर, विज्ञापन कर लगायतबाट करिब १ करोड रुपैयाँ आम्दानी हुने नगरले प्रक्षेपण गरेको छ।
नगरपालिकाको कुल बजेटमध्ये ६८.७५ प्रतिशत चालु खर्च र ३१.२५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ, जसले चालु खर्च बढी र पुँजीगत खर्चमा केही कटौती भएको देखिन्छ। उपप्रमुख बस्नेतले सार्वजनिक बजेट विवरणमा संघीय र प्रदेश सरकारबाट हस्तान्तरण हुने रकममध्ये चालु र पुँजीगत तर्फको अनुपात क्रमशः ९०.५४ प्रतिशत र ५५.९१ प्रतिशत रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाले बजेटमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। बजेटले समावेशी विकास र सेवा प्रवाहमा पारदर्शिता तथा जिम्मेवारीपन कायम गर्ने प्रतिबद्धता पनि जनाएको छ।