रामेछाप । मन्थली माध्यमिक विद्यालयमा भएको चरम अनियमितताको बिषयमा अनुगमन गर्न गठित स्थलगत छानविन समितिले पेश गरेको प्रतिवेदन लुकाएर मन्थली नगरपालिकाले बुधवार पत्रकार सम्मेलन गरेको छ ।
मन्थली माध्यमिक विद्यालयमा चरम आर्थिक अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति अवैद्यानिक रहेको, छात्राबास भवन निमार्ण गर्दा लाखौ रुपैया भष्ट्राचार भएको र नमुना विद्यालय संचालन गर्न आएको वजेट समेत अनियमितता भएको लगाएतका विषयमा मन्थली नगरपालिकाको शिक्षा शाखामा उजुरी परेको थियो ।
सो उजुरी उपर मन्थली नगरपालिकाका शिक्षा शाखा मार्फत गठित स्थलगत छानविन समिति निमार्ण गरि सबै कामको जिम्मेवारी उक्त समितिलाई दिएको थियो । गठित समितिले मन्थली माध्यमिक विद्यालयमा भएको सबै अनियमितताको फायल केलाएर सत्यतथ्य प्रतिवेदन मन्थली नगरपालिकामा पेश गरेको छ । स्थलगत छानविन समितिले पेश गरेको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरेपछि विभिन्न संचारमाध्यमले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै समाचार समेत प्रकाशित गरेका थिए ।
सोही बिषयलाई लिएर मन्थली नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा समेत स्थगत छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेनन् । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले पटक–पटक स्थगलत छानविन समितिले बुझाएको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने अडान राखे पनि मन्थली नगरपालिकाका प्रमुख रशेमकुमार बस्नेत र शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकी मुखामुख गरेरै टारे ।
पत्रकारहरुले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली माविमा धेरै अनियमितता भएको र धेरै कर्मचारीहरुको नाम मुछिएकाले उक्त प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न समस्या भएको बताए । उनले– मन्थली माविमा भएको अनियमितताको बिषयमा अख्तियारमा समेत उजुरी परेको हुँदा सवै विषयवस्तु सार्वजनिक गर्न नमिल्ने भन्दै आफ्ना कर्मचारी र विद्यालय व्यवस्थापन समितिको बचाउँ गरेका छन् ।
मन्थली माविको प्रतिवेदन सार्वजनिक हुँदा मन्थली नगरपालिकाका शिक्षा शाखा, लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत समेतले गरेको अनियमितताको पोल खुल्ने भएपछि मन्थली नगरपालिकाले तत्काल मन्थली नगर शिक्षा समितिको वैठकको आयोजना गरि सबै प्रतिवेदन सार्वजनिक नगर्ने निर्णय गरेको श्रोतले जानकारी दियो ।
नगरपालिका श्रोतका अनुसार मन्थली माध्यमिक विद्यालयमा निमार्णधिन छात्राबास भवनको काम सम्पन नहुँदै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत र लेखा अधिकृतको मिलेमतोमा कागजात मिलाएर विद्यालयलाई रकम निकासा दिइएको छ । जसको कारण लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत समेत अनियमिता गरेको बिषयमा फस्ने र पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रश्न राख्छन भन्ने डरले उनीहरु भने पत्रकार सम्मेलन अगाडी नै कार्यालयबाट बाहिरिएका थिए ।
मन्थलीका पाण्डव सुवेदीले मन्थली माविमा भएको अनियमितताको छानबिनको लागि दिएको उजुरी उपर गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा विद्यालयमा चरम अनियमितता भएको देखिएको प्रतिवेदन नगरपालिकामा बुझाएको छ । उक्त प्रतिवेदन लुकाएर पत्रकार सम्मेलन गर्नु गलत भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।
उनले भने– प्रतिवेदन सार्वजनिक नगरि मन्थली नगरपालिकाले प्रतिवेदनलाई सारासं संक्षेप भन्दै धेरै बिषयबस्तु लुकाएर पत्रकार सम्मेलन गरेको देखिन्छ । यसवाट के स्पष्ट हुन्छ भने मन्थली माविको अनियमितता प्रकरणमा मन्थली नगरपालिकाको समेत हात रहेको प्रष्ट हुन्छ ।
मन्थली माविको अनियमितताको बिषयमा स्थलगत छानविन समितिले वुझाएको प्रतिवेदन मध्ये केही सारसंक्षेप मात्रै सार्वजनिक गरेको नगरपालिकाले मन्थली माविले शिक्षक तथा कर्मचारी व्ययवस्थापन भर्ना गलत गलत देखिएको, बस व्यवस्थापनको नाममा मनलाग्दी रुपमा भुक्तानी गरेको, नमुना विद्यालय कार्यक्रम अन्तर्गत छात्राबास भवन निमार्णमा अनियमितता देखिएको लगाएतका विषयवस्तु सार्वजनिक गरेको छ ।
त्यसैगरी विद्यालयमा अध्यनरत बालबालिकाको नाममा अभिभावकबाट शुल्क असुली गरेको, निजी श्रोत र शिक्षक भर्ना प्रक्रिया नै गलत भएको, वित्तिय व्यवस्थापनमा मनलाग्दी रुपमा खर्च गरेको, शैक्षिक व्यवस्थापनमा भद्रगोल लगाएतका विषयमा तत्काल सुधार गर्नुपर्ने भन्दै मन्थली माध्यमिक विद्यालयलाई निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
नगर शिक्षा समितिको वैठकले निर्णय गरे अनुसार काम कारवाही नभए आवश्यक कारवाही गर्ने तयारी नगर शिक्षा शाखाले गर्ने जनाएको छ । तर विधान विपरित गठन भएको मन्थली माविको व्यवस्थापन समितिलाई भने मन्थली नगरपालिकाले संरक्षण गर्ने निर्णय गरेको छ । जसले गर्दा सबै बिषयमा अनियमितता हुँदा केही बिषयमा कारवाही गर्ने र केही बिषय नगरपालिकाले गुपचुप राखेको प्रस्टै देखिन्छ ।
छानविन प्रतिवेदन मन्थली नगरपालिकाले सार्वजनिक नगरि लुकाएपछि उक्त प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्दै नागरिक समाजका सदस्य दीपक भट्टले राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय रामेछापमा वोद्यार्थ दिएर मन्थली नगरपालिकासँग सूचनाको हक अनुसार सूचना माग गरेका छन् ।
सोही बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल प्रतिवेदनको प्रमाणित प्रतिलिपि नागरिक समाजका सदस्य दीपक भट्टलाई उपलव्ध गराउनु भन्दै पत्राचार गरेपनि मन्थली नगरपालिकाले हालसम्म उक्त प्रतिवेदन नदिएपछि मन्थली नगरपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा जाने र जसरी पनि प्रतिवेदन लिएर सार्वजनिक गरेरै छाड्ने नागरिक समाजका सदस्य दीपक भट्टले जानकारी दिए ।