सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको समृद्धिका लागि बलियो पूर्वाधार, दीर्घकालीन लगानी र प्रभावकारी कार्यान्वयन नीतिहरू आवश्यक रहेको बताएका छन् ।
मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न ‘आधारभूत भलिबल प्रशिक्षक तालिम’को समापन कार्यक्रममा मन्त्री गुरुङले खेलकुदलाई दिगो रूपमा अघि बढाउन सरकार नीतिगत र संरचनागत रूपमा थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
“खेलकुदको विकासका लागि नीति मात्र होइन, पूर्वाधार र बजेट पनि त्यसको अनुरूप हुनुपर्छ,” मन्त्री गुरुङले भन्नुभयो, “हाल सरकारले खेलकुद क्षेत्रमा करिब ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ तर यो प्रयाप्त छैन। कम्तीमा ३० देखि ५० अर्ब रुपैयाँको लगानी जरुरी छ ।”
उहाँले बजेटको विनियोजनपछि त्यसको प्रभावकारी कार्यान्वयन र पारदर्शिता सुनिश्चित गर्न सरकारी संयन्त्र अझ बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपनिर्देशक तथा वरिष्ठ भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्ट र मन्थली अस्पतालका प्रमुख डा. केशव धामीलाई सम्मान गरिएको थियो। प्रशिक्षक भट्टलाई भलिबल खेलमा पु¥याएको योगदानका लागि दोसल्ला ओढाएर र प्रशंसा पत्रद्वारा सम्मान गरियो।
स्वास्थ्य सेवा मार्फत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आएको कदरमा डा. धामीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
तालिममा सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री गुरुङले यस्ता तालिमहरूले खेलकुद विकासमा व्यावसायिकता र दीर्घकालीन परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ प्रशिक्षक भट्टले खेल क्षेत्रका योजना र बजेट कार्यान्वयनमा पारदर्शिता अभाव देखिएको भन्दै निगरानी संयन्त्रलाई थप चुस्त बनाउनुपर्ने बताए ।