काठमाण्डौं । तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ई एम आर)’ प्रणालीको सुरुवात भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रममा उक्त प्रणालीको शुभारम्भ गरेका छन्।
ई एम आर प्रणाली लागू भएसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य विवरण, परीक्षण रिपोर्ट र अन्य तथ्याङ्क विद्युतीय रूपमा सुरक्षित र एकीकृत अभिलेखमा राख्न सकिने भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “ई एम आर प्रणालीले उपचार सेवालाई थप व्यवस्थित, सहज र गुणस्तरीय बनाउने विश्वास छ। स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउने हाम्रो उद्देश्य निरन्तर जारी छ।” उनले सबै सङ्घीय अस्पतालमा यो प्रणाली विस्तार गर्ने प्रतिवद्धता पनि जनाए।
स्वास्थ्य मन्त्रालयले फाल्गुन २०८१ मा “एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका” जारी गर्दै विद्युतीय चिकित्सा अभिलेख व्यवस्थित गर्ने व्यवस्था गरिसकेको थियो। ई एम आर प्रणालीको स्थापनामा विश्व स्वास्थ्य संगठनको सहयोग रहेको छ। मन्त्री पौडेलले यस सहयोगका लागि WHO प्रति आभार व्यक्त गरे।