काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेतृ विनिता खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। परम्परागत गुटगत राजनीति, आश्वासन र चुनावी जोडघटाउ भन्दा माथि उठेर पार्टीलाई समय अनुकूल रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोणसहित आफू मैदानमा आएको खड्काले बताएकी छन् ।
खड्काको उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व हस्तक्षेपका रूपमा हेरिएको छ । युवा उमेरमै पार्टीको केन्द्रीय जिम्मेवारी सम्हालिसकेकी खड्काले यसपटक पनि पदका लागि मात्र नभई संगठन सुधार, पुस्तान्तरण, कार्यकर्ता केन्द्रित राजनीति तथा नीति र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक रोडम्याप अघि सारेकी छन् ।
बाल कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेकी खड्का नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजनीतिमा स्थापित भएकी हुन् । उनले लामो समयदेखि पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मको संगठनात्मक अभ्यास र कार्यकर्ताको अवस्था नजिकबाट बुझ्दै आएकी छन् ।
उनको राजनीतिक यात्रामा विभिन्न महाधिवेशन महत्वपूर्ण उपलब्धिका रूपमा जोडिएका छन् । १३औँ महाधिवेशनमा देशभरकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी खड्का १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसहित केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । विशेष महाधिवेशनमा जेनजी उमेर समूहबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी उनी १५औँ महाधिवेशनमा आफ्नै क्षेत्रमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।
खड्काले आफ्नो राजनीतिक यात्रालाई केवल पद प्राप्तिको माध्यमका रूपमा नभई समाज रूपान्तरणको अभियानका रूपमा अघि बढाउँदै आएको बताएकी छन् । राजनीति र समाजलाई नजिकबाट बुझ्न उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । अध्ययनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक विषयमा रुचि राख्ने खड्का तर्क र तथ्यमा आधारित राजनीतिक संस्कारको पक्षमा देखिन्छिन् ।
राजनीतिसँगै निजी क्षेत्रमा समेत अनुभव हासिल गरेकी खड्काले हस्पिटालिटी र ऊर्जा क्षेत्रमा काम गरेकी छन्। संस्थागत व्यवस्थापन, वित्तीय अनुशासन र निजी क्षेत्रको कार्यशैलीको अनुभवले राजनीतिक नेतृत्वलाई थप व्यावहारिक बनाउन सहयोग पुग्ने उनको बुझाइ छ। राजनीतिक नेतृत्वले देशको अर्थतन्त्र, व्यवस्थापन र निजी क्षेत्रको भूमिकालाई समेत गम्भीर रूपमा बुझ्नुपर्ने उनको धारणा छ ।
चार खम्बे सङ्कल्प
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै खड्काले कांग्रेस रूपान्तरणका लागि चारवटा मुख्य सङ्कल्प अघि सारेकी छन्।
पहिलो, उनले संगठन सुधार र सुदृढीकरणलाई प्राथमिकतामा राखेकी छन् । वडा तहदेखि केन्द्रसम्म पार्टी संगठनलाई चुस्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउने उनको योजना छ । बदलिँदो समयसँगै कांग्रेसको संगठनात्मक संरचना पनि डिजिटल प्रविधिसँग जोडिनुपर्ने उनको धारणा छ ।
दोस्रो, पुस्तान्तरण र नेतृत्व विकासलाई उनले आफ्नो राजनीतिक अभियानको महत्वपूर्ण आधार मानेकी छन् । अग्रज नेताहरूको अनुभवलाई पार्टीको सम्पत्तिका रूपमा संस्थागत गर्दै नयाँ पुस्तालाई केवल चुनावका बेला प्रयोग हुने मतदाताका रूपमा नभई नीति निर्माण र नेतृत्वको निर्णायक तहमा अवसर दिनुपर्ने उनको जोड छ।
तेस्रो, खड्काले कार्यकर्ता केन्द्रित कांग्रेस निर्माणको आवश्यकता औँल्याएकी छन् । निर्वाचनका बेला मात्र कार्यकर्तालाई सम्झने प्रवृत्तिको अन्त्य गर्दै पार्टीका लागि योगदान गर्ने कार्यकर्ताको मूल्यांकन, सम्मान र अवसरको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । कार्यकर्ताको योगदानलाई पारदर्शी प्रणालीमार्फत मूल्यांकन गर्ने संस्कार विकास गर्नुपर्ने उनी बताउँछिन् ।
चौथो, उनले नीति, नवप्रवर्तन र जनविश्वासलाई कांग्रेस रूपान्तरणको आधारका रूपमा अघि सारेकी छन् । पुराना सोच र परम्परागत राजनीतिक शैलीबाट मात्र पार्टीलाई अघि बढाउन नसकिने भन्दै समयअनुकूल नीति, प्रविधि र नयाँ विचारलाई पार्टीको मूलधारमा ल्याउनुपर्ने उनको धारणा छ।
खड्काले कांग्रेसलाई आम नागरिकको भरोसाको पहिलो राजनीतिक शक्ति बनाउन विचार, नीति र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । उनका अनुसार पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिताको अभ्यास बलियो भए मात्र कांग्रेसप्रतिको जनविश्वास थप मजबुत बन्न सक्छ ।
नयाँ पुस्ताको आकर्षण
रामेछापबाट १५औँ महाधिवेशनका लागि सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी खड्काको उम्मेदवारीले कांग्रेसभित्र नयाँ पुस्ताको ध्यान तानेको छ । विशेषगरी युवा पुस्तालाई नेतृत्वको मूलधारमा ल्याउनुपर्ने बहस चलिरहेका बेला उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गुटगत समीकरणभन्दा आफ्नो राजनीतिक दृष्टिकोण, अध्ययन, अनुभव र संगठनप्रतिको प्रतिबद्धतालाई आधार बनाएर अघि बढ्ने बताउँदै आएकी खड्काले कांग्रेसभित्र पुस्तान्तरणसँगै राजनीतिक संस्कारमा समेत परिवर्तन आवश्यक रहेको बताएकी छन्।
उनको दाबी छ—कांग्रेसको भविष्य केवल पुरानो विरासतले निर्धारण गर्ने होइन, बदलिँदो पुस्ताको अपेक्षा, प्रविधि, रोजगारी, उद्यमशीलता, सुशासन र जनताको बदलिँदो राजनीतिक चेतनालाई सम्बोधन गर्ने क्षमताले निर्धारण गर्नेछ।
त्यसैले खड्काको उम्मेदवारीलाई केवल एउटा व्यक्तिको केन्द्रीय सदस्य पदको दाबीका रूपमा भन्दा पनि कांग्रेसभित्र नयाँ पुस्ताले खोजिरहेको राजनीतिक शैली र नेतृत्वको बहससँग जोडेर हेर्न थालिएको छ। गुटभन्दा माथि उठेर संगठन, कार्यकर्ता र आम नागरिकसँग जोडिएको कांग्रेस निर्माण गर्ने उनको चार खम्बे सङ्कल्पले १५औँ महाधिवेशनमा उनको उम्मेदवारीलाई थप चासोको विषय बनाएको छ।










