गणतन्त्र दिवस–२०८३ को अवसर पारेर रामेछाप अस्पतालले निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अस्पताल, जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र जिल्ला रेडक्रस सोसाइटीको समन्वयमा सञ्चालन हुने कार्यक्रममा सर्वसाधारणलाई सहभागी भई सेवा लिन आग्रह गरिएको छ ।
अस्पतालका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह, मिर्गौला तथा कलेजो परीक्षण, लिपिड प्रोफाइल, एक्स–रे, इसिजीलगायत सेवा निःशुल्क उपलब्ध गराइनेछ । महिलाका लागि विशेष रूपमा पाठेघरसम्बन्धी परीक्षण सेवा पनि प्रदान गरिने जनाइएको छ ।
रक्तदान कार्यक्रम असोज १४ गते बिहान ९ बजेदेखि १२ बजेसम्म तथा निःशुल्क स्वास्थ्य शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रामेछाप अस्पताल परिसरमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।










