रामेछाप । नेपाली कांग्रेस दोरम्बा–शैलुङ गाउँपालिकाको अधिवेशनपछि पहिलो बैठक बस्ने भएको छ। गाउँपालिका सभापति लालबहादुर मगरको निमन्त्रणामा बैठक आयोजना गर्न लागिएको हो।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बन्सलाल तामाङ, नेपाली काँग्रेस रामेछापमा कार्यबाहक सभापति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि नबराज थोकर, पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि मानबहादुर तामाङ तथा क्षेत्रीय सभापति रामकृष्ण ढुंगेललगायत नेताको सहभागिता रहने जनाइएको छ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, आपसी एकता तथा आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
बैठकअघि दोरम्बा–शैलुङ गाउँपालिकाका नेता, कार्यकर्ता तथा पार्टीका शुभेच्छुकसँग चिया भेटघाटसमेत आयोजना गरिएको छ। चिया भेटघाटमा गाउँपालिकाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई बिहान ९ बजे उपस्थित हुन आग्रह गरिएको कार्यवाहक सभापति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि नबराज थोकरले जानकारी दिनुभयो।
अधिवेशनपछि स्थानीय तहमा पार्टीको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले बैठक आयोजना गरिएको नेपाली कांग्रेस दोरम्बा–शैलुङले जनाएको छ।









