काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई जवाफदेही बन्न आग्रह गर्दै दलभित्रको विकृति–विसङ्गति, सुशासनको कमी र संसद निरीह बनेको अवस्थाप्रति कटाक्ष गरेकी छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले दलहरूको कार्यशैली नजिकैबाट हेरिसकेको उल्लेख गरिन्। माले हुँदै एमालेमा पुगेको आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले त्यतिबेला भएको एकताबाट नेकपा एमाले बनेको इतिहासलाई पनि उजागर गरिन्।
भण्डारीका अनुसार, लोकतन्त्रको नयाँ युगमा प्रवेश गरे पनि जनताका आकांक्षा अझै पूरा हुन सकेका छैनन्। उनले भनिन्, “राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो, तर संस्थागत हिसाबले प्रणालीमा जान सकेका छैनन्। राज्य संयन्त्र समेत अझै प्रणालीमा सञ्चालन हुन सकेको छैन।”
संविधान संशोधनका विषयमा दलहरूले सहमति गरेको भए पनि ठोस छलफल र समाधान नखोजिएको भन्दै उनले निर्वाचित जनप्रतिनिधिहरू आदर्शअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्। संसद निरीह थलो बन्न पुगेको उनको गुनासो थियो।
निलम्बन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले प्रमाणित नभएसम्म जनप्रतिनिधि दोषी मान्न नहुने बताइन्। “संसदका ठूला दलका नेताहरू निलम्बन यात्रामा छन्, यो लोकतान्त्रिक अभ्यास होइन,” उनले स्पष्ट पारिन्।
त्यसैगरी उनले शिक्षासम्बन्धी नीतिमा पनि गम्भीर प्रश्न उठाउँदै नयाँ पुस्ताको अपेक्षा अनुसार गुणस्तरीय नीति बनाउनुपर्ने आवश्यकता औंल्याइन्। कपिपेस्ट शिक्षाले युवालाई पलायनतिर धकेल्ने चेतावनी दिँदै उनले व्यवहारिक र सुधारिएको शिक्षा नीतिको माग गरिन्।









