हेटौँडा – बागमती प्रदेशमा आज बसेको सर्वदलीय बैठकले भदौ २३ र २४ गते जेन–जी अभियानका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकलाई श्रद्धाञ्जलि अर्पण गरेको छ। मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकले संविधान दिवस (असोज ३) भव्य रुपमा मनाउने निर्णय गरेको छ। साथै, आन्दोलनका क्रममा बागमती प्रदेश सरकारका मन्त्रालय, स्थानीय तहका संरचना र विभिन्न व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य अघि बढाउने सहमति पनि भएको छ।
बैठकले सुशासन र खर्च कटौतीलाई प्रभावकारी बनाउने कार्यक्रम तत्काल ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, स्थगित प्रदेशसभा बैठकलाई शीघ्र सञ्चालन गर्ने विषयमा पनि सर्वसम्मत निर्णय भएको छ।
बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, माओवादी दलका प्रमुख सचेतक रत्न ढकाल, कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेललगायतको उपस्थिति थियो।