काठमाडौं – यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्ने सबै सवारीमा अनिवार्य रूपमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ।
विभागले मंगलबार जारी गरेको सूचनामा प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयहरूमा यो नियम कडाइका साथ लागू हुने जनाएको छ। सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित कार्यालयमा गई नम्बर प्लेट जडान गर्नुपर्ने जानकारी पनि दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०८१ साउन २० गतेको मन्त्रीस्तरीय बैठकले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार, दर्ता, नामसारी र नवीकरणका क्रममा सबै सवारीधनीले उच्च सुरक्षा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।
विभागले सूचनामा स्पष्ट रुपमा भनेको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सबै सवारीधनीलाई अनुरोध गरिन्छ।”









