काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे तोकिएको छ ।
प्रतिनिधि सभामा आज ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नेछिन् । त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’लाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।