फोसाको लेखन

विचार / ब्लग
  • 55
    Shares

मैथिलीमा एउटा भनाइ छ
–‘नोकर ऐसा होना चाही,
जो भीख मागकर खाए,
चौबीस घन्टा हाजिर होए
घर कभी न जाए ।’ सुन्दा मीठो लागे पनि गहिराइमा गएर विश्लेषण गर्ने हो भने यसमा सामन्ती सोच हावी छ । उहिलेका मानिसहरूले बनाएको यो रुल रेगुलेसन अहिले पनि कतिपय सबालमा लागू भैरहेको देखिन्छ तर अहिलेका मानिसहरू यो कुरा मान्न तयार छैनन् । कवितांशको अर्थ लगाउने जिम्मा आदरणीय पाठकहरूकै जिम्मामा छाँडे मैले ।
लुनकरण दास–गंगादेवी चौधरी साहित्य कला मन्दिर, थापाथली काठमाडौँ प्रकाशक रहेको साथै वरिष्ठ नाटककार हरिहर शर्मा सल्लाहकार, डा.विष्णुविभु घिमिरे प्रधान सम्पादक, रमण घिमिरे कार्यकारी सम्पादक र राजेन्द्र सलभ सम्पादक रहेका ‘अक्षरङ्ग’ साहित्य कला पत्रिका अनलाइन साहित्यिक पोर्टलका रुपमा नियमित प्रकाशित भैरहेको छ । सो पत्रिकाले आफ्नो इडिटोरियल बोर्ड रहेको पृष्ठमा ‘यस पत्रिकामा प्रकाशित सामग्रीहरूको प्रतिलिपि अधिकार प्रकाशकमा रहने छ र यसमा प्रकाशित रचनाहरूको पारिश्रमिक दिइने छैन’ भन्ने व्यहोराको सूचना प्रकाशित गरेको छ । जुन कुरा हेर्दा कताकता केके नमिलेको जस्तो देखिन्छ ।
केही दिनअघि साहित्यकार तथा गजलगो सुविद गुरागाईंले सो कुराप्रति आफ्नो धारणा राखी विरोध जनाए । धेरै लेखक साहित्यकारहरूले उनलाई प्रतिक्रियामा सकारात्मक तबरले जवाफ दिए । बास्तवमा त्यो पत्रिकामा आएको सूचना र त्यहाँ कार्यरत व्यक्तित्वहरूको सुनाम हेर्दा जो कोही लेखक तथा पाठक पनि छक्क नपरी रहन सक्दैनन् । कुनै पनि व्यक्ति, व्यक्तित्व र संस्था समेतले द्वअर्थी कुरा गर्नु हुँदैन । डबल स्टेण्डर्ट कुरालाई आज नभए पनि भोलिका दिनमा समाजले पचाउन सक्दैन । फेरि अर्को कुरा कम्तिमा लेखक र सम्पादकको सम्बन्ध भनेको त नङ्मासुको जस्तो हुने गर्छ । एउटा सम्पादकले लेखकलाई सधैँभरि माथि भनिएझैँ शैलीमा शोषण गरिरह्यो भने हिन्दीमा भनिएझैँ –‘घोडा घाँससे दोस्ती करेगा तो खाएगा क्या ?’ भन्ने कुरा फेरि यहाँ आकर्षित हुन्छ । कम्तिमा लेखक भोको छैन भने उसलाई लेखनका लागि जस्तोसुकै अनुरोध गर्न पनि सकिन्छ भन्ने अभिमत राख्न खोजिएको हो । अरुको कलात्मक विचार सित्तैमा खान हुन्न अझ त्यो बेपारमा त लैजानै हुन्न भन्ने तर्कमात्र लेखकहरूको हो । हिजो कोही बोलेनन् भनेर हुँदैन भोलि बोल्ने मानिस निस्किहाल्छन् । भनाइ नै छ ‘बोल्नेको मुख थुनेर सकिँदैन ।’
स्पष्ट छ अहिले केही गिनेचुनेका अनलाइन पत्रिका र पोर्टलहरूले मात्र केही लेखकहरूलाई सामान्य पारिश्रमिक दिन्छन् । नभए धेरैजसो अनलाइन र पोर्टलहरू कपीपेष्ट मै चलेका छन् । यो कुरा पत्रिकाका प्रकाशक, सम्पादक, लेखक, पाठक र विज्ञापनदाताहरू सबैलाई थाहा छ । थाहा भएर पनि कोही नबोलेको यो समयमा लेखक मित्र सुविद गुरागाईंजीले उठाउनु भएको कुरो निकै मार्मिक पनि छ । प्रतिलिपि अधिकार पनि सित्तैमा लिने र प्रकाशित रचनाको कुनै पारिश्रमिक नदिने कुरा दोहोरो अर्थ राख्ने काइते पाराको त छँदैछ भने अर्कोतिर यसले पाठकलाई नै सो पत्रिकाप्रति नकारात्मक धारणा जगाउन बेर छैन ।
त्यस्तो कुरा भनिरहनै पर्दैन । वर्तमान समयमा लेखनको दायरा फराकिलो भएको छ । हिजोको जस्तो गरिमा, मधुपर्क र गोरखापत्रको शनिबासरीय परिशिष्टाङ्कमा लेख, रचना र कथा कविता छापिएपछि मात्र लेखक हुने जमाना अब गए । अहिले नेपाली भाषामा करिब १२ सय जति राजनीतिक र साहित्यिक पोर्टल तथा अनलाइन पत्रिकाहरू निस्कने गरेका छन् । संसारभरिबाट जहाँ छापे पनि हुने सुविधा लेखकलाई छ भने संसारको जुनसुकै कुनाबाट पनि एकै क्लिकमा पत्रिका खोलेर पढ्ने, मन पर्ने लाइक, कमेन्ट र सेयर गर्ने सुविधा पाठकलाई समेत रहेको छ । अझ अहिले त लेखकभन्दा प्रविधिका पाठकहरू नै उम्दा र छिट भैरहेको स्थिति छ ।
हुन त कुनै पनि संस्था वा पत्रिकाको आफ्नो आन्तरिक नियम हुन्छ । त्यो नियम पछ्याउन लेखक र पाठक तथा विज्ञापनदाता समेत बाध्य हुन्छन् । अक्षरङ्ग पत्रिकामा आएका रचनाहरू फोसामा आएका रहेछन् चाहे ती लेखकहरूले सम्पादकहरूका आग्रहमा पठाएका हुन् या लेखकहरूले आफैँ स्वतःस्फूर्त रुपमा लेखेर छाप्नका लागि पठाएका हुनन् । त्यसमा हामी बाहिरबाट हेनेलाई कुनै प्रकारको चासो हुनु पनि भएन तर देश दुनियाँले देख्दा नपच्ने खालको सूचना सल्लाहकार र सम्पादन बोर्डमा बसेका महानुभावहरूको नामसँग भने अलि सुहाएन भन्न मात्र खोजेको हो ।
खुला समाजमा जसले पनि बेपार गर्न सक्छ । जे पेसा रोज्न सक्छ । जुनसुकै अभिमत र विचार प्रकट गर्न सक्छ । यस्तो स्थितिमा वहाँहरूको सूचनालाई अक्षरशः मानेर रचना पठाउनु हुने लेखकहरूका ती लेख रचनाहरू अन्य पारिश्रमिक दिइने पत्रिका, अनलाइन र पोर्टलहरूमा प्रकाशित र पोष्ट भएका भए लेखकलाई पनि केही राहत हुन्थ्यो भन्ने अभिमत मात्र प्रकट गर्न खोजेको हो ।
देवकोटाले लेखन र लेखकका सबालमा एक ठाउँमा भनेका छन् –हामी रेशमकिरा हौं……….शिवाय किम्बूका हरिया पातबाहेक हामीले केही पाएका छैनौं ।’ लेखन गाह्रो कुरा हो । अझ कालजयी लेखन त दुर्लभ प्रतिभाहरूले मात्र गर्न सक्ने कुरा हो । सबै लेखक अनन्त कालसम्म बाँच्छन् भन्ने पनि छैन । सबैको लेखन अमरत्व प्रदान गर्न सक्ने खालको हुँदैन । तर राम्रो लेख्न सक्ने लेखकलाई उसको लेखनका लागि सकेदेखि राम्रो र नसके पनि मध्यम स्तरको पारिश्रमिक दिने चलन चलाउनु उपयुक्त हुन्छ । यो कुरामा अक्षरङ्ग पत्रिकाका प्रकाशक÷सम्पादकहरू चुकेका देखिए । अझ त्यस्तो विवादास्पद सूचनाका साथमा आफ्नो नामसमेत रहेको देख्दा ती स्वनामधन्य लेखकहरूलाई अप्ठ्यारो लाग्नु पर्ने हो । कुरोको चुरो यत्ति हो । बाँकी वहाँहरूको मर्जी ।
साहित्य समयको दस्तावेज हो । यो भविष्यका लागि विविध प्रकारको सुरक्षित र संरक्षित इतिहास समेत हो । लेखकलाई भगवान् मान्ने संस्कार पनि यो धर्तीमा छ । लेखकहरू झुण्डमा रमाएका, राजनीतिक पार्टीका हनुमान र पुच्छर समेत भएका, समयक्रममा भाटगिरी गर्दै लेखनमा निर्लिप्त भएका धेरै उदाहरणहरू हामी नेपाली साहित्यमै लाग्नेहरूबाट तमासाका रुपमा देखिरहेका छौं । यस्तो स्थितिको अन्त्य हुनै पर्छ ।
मित्र सुविद गुरागाईंले जुन खरो कुरो उठाए त्यो सचेत र स्वाभीमानी लेखकका लागि अति नै बिझाउने कुरा हो । बाँकी पत्रिकाका हकमा सल्लाहकार तथा सम्पादकत्रय र लेखक, पाठक, भावक एवम् शुभकांक्षीहरूले आफैँ मिलाएर बुझ्दा हुन्छ ।
ड्ड

Facebook Comments

  • 55
    Shares