सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल लम्सालले सीमित स्रोत र साधनका बाबजुद जनताका आवश्यक्ता सम्बोधन गर्न सरकार प्रयासरत रहेको बताउनुभएको हो ।
कार्यक्रममा कानुन मन्त्री सोविता गौतमले जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्न र सोही अनुसार रणनीतिक योजना बनाउन स्थलगत भ्रमण गरिएको बताउनुभयो । विगतका कमीकमजोरीलाई सुधार्दै इमानदार भई काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गौतमले कानुन सुधारका लागि सरकार उदार रहेको र जनता तथा कर्मचारीबाट प्राप्त सुझावका आधारमा कानुन संशोधन गर्दै जाने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । सिंहदरबारको ढोका जनताका लागि सधैँ खुला रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार र कानुन निर्माणको क्षेत्रमा आशावादी हुन आग्रह गर्नुभयो ।
यसैगरी भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले रामेछाप जिल्लाका पूर्वाधार विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभयो । पालिका केन्द्र जोड्ने सडक, कृषि सडक तथा मर्मत सम्भारका लागि बजेट छुट्याइएको जानकारी दिँदै मन्त्री लम्सालले स्थानीय तहका प्रतिनिधिहरूलाई आफ्ना क्षेत्रका वास्तविक समस्या र माग लिएर केन्द्रसम्म आउन आह्वान गर्नुभयो । सडक तथा खानेपानीका समस्या समाधान गर्न सरकार पछि नहट्ने भन्दै प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरिने उहाँको भनाइ थियो । छलफल कार्यक्रमपश्चात् मन्त्रीद्वयको टोली दोलखातर्फ प्रस्थान गरेको छ










