विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (C.E.O.) खत्री देशैभरिका १,६०० प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्नुभएको हो। खत्री प्रमुख रहेको यस अनुसन्धान केन्द्रको स्वामित्वमा हाल १५० हेक्टर (करिब ३,००० रोपनी) जग्गा रहेको छ, जहाँ कृषि उत्पादकत्व, आधुनिक प्रविधि र कृषि विधिहरूमा अनुसन्धान भइरहेको छ।
खत्रीको यस ऐतिहासिक सफलताले नेपाली कृषिको नवप्रवर्तन र युवा आकर्षणमा ठूलो योगदान पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। बाँझो जमिनलाई उत्पादनशील बनाउने तथा गोकुलगंगालाई “किवी हब” का रूपमा स्थापित गर्न खत्रीले पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको भन्दै गाउँपालिकाले १३ लाख बराबरको पुरस्कार र मुक्तिनाथ कृषि कम्पनीको ब्रान्ड एम्बेसडर बन्नुभएका खत्रीलाई उज्ज्वल भविष्यको शुभकामना दिएको छ। महानायक राजेश हमालद्वारा होस्ट गरिएको यस शोको निर्णायकमा डा. नम्रता पाण्डे, उदित प्रकाश सिग्देल र डा. महेश जैसी लगायत हुनुहुन्थ्यो भने प्राविधिकतर्फ सुमन बिमली विजेता बन्नुभयो। गाउँपालिकाले “समृद्ध किसान, समृद्ध गाउँपालिका, समृद्ध नेपाल” को लक्ष्यका लागि आगामी दिनमा एकीकृत उत्पादन र सुनिश्चित बजारको अवधारणामा खत्रीसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।









