ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ ।
सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
कक्षा १२ मा अध्ययनरत सिंहलाई घटना लगत्तै कलेजका शिक्षकहरूले उपचारका लागि अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा साँझ करिब ६ बजे चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।
प्रहरीका अनुसार घटनास्थलबाट सिंहले लेखेको भनिएको एउटा नोट फेला परेको छ । उक्त नोट र कलेज परिसरको सीसीटिभी फुटेज अध्ययन गरेर घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
घटनापछि कलेज परिसरमा शोकको वातावरण बनेको छ । प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ ।









