रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो
मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको प्रगति उत्साहजनक देखिएको हो।
जिल्ला आर्थिक गणना कार्यालय, रामेछापका अनुसार जेठ ५ गतेसम्म संकलन गरिएको विवरणमा तोकिएको लक्ष्य ५ हजार ६ सय २१ प्रतिष्ठानहरूमध्ये ४ हजार २ सय १८ वटा व्यवसाय तथा आर्थिक प्रतिष्ठानहरूको गणना सफलतापूर्वक सम्पन्न भइसकेको छ। यस कार्यका लागि जिल्लाभर २१ जना गणकहरूलाई कार्यक्षेत्रमा खटाइएको छ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा आर्थिक विवरण संकलनको प्रगति सन्तोषजनक रहेको र संकलित तथ्याङ्कलाई अनलाइन प्रणाली (ड्यासबोर्ड) मा निरन्तर प्रविष्टि गर्ने कार्य भइरहेको छ। हालसम्मको प्रगतिको गति र क्षेत्रगत अवस्थालाई हेर्दा आगामी दुई हप्ताभित्र जिल्लाभरिको सम्पूर्ण आर्थिक गणना कार्य पूर्ण रूपमा सकिने अनुमान कार्यालयले गरेको छ।









