रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा आगामी वैशाख २४ गतेदेखि ‘अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समिति, धोबीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिता झट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदान, धोबीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । खेलकुदको विकास र स्वस्थ समाजको निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि वैशाख १५ गतेदेखि २१ गतेसम्म दर्ता समय तोकिएको छ । प्रतियोगितामा सहभागी हुन प्रति टिम दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुने टोलीलाई १ लाख ५० हजार, तृतीय हुनेलाई १ लाख र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले उल्लेख गरेको छ ।









