दोलखा र रामेछापको सिमाना खिम्तीस्थित हिमाल हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको सडकबाट लडेर मृत्यु भएको छ । ओखलढुङ्गा घर भएका अन्दाजी ५२ वर्षीय लोकबहादुर बोगटीको गएराति सडकबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोमबार राति करिब साढे ९ बजेतिर हिँडिरहेको अवस्थामा सडकबाट लडेर बोगटीको मृत्यु भएको हो । सिसिटिभी फुटेजमा बोगटी राति एक्लै हिँडिरहेको बेला सडकबाट लडेको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।
सडकबाट लडेका बोगटी पर्खाल लगाउनका लागि तयार पारिएको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेका थिए । मङ्गलबार बिहान कामदारहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।









