रामेछाप २८ फागुन । गलैंचा उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावका कारण रामेछाप जिल्लामा गलैंचा उद्योग संकटमा पर्न थालेको छ ।
जिल्लामा संचालित २० भन्दा बढी उद्योगहरु दक्ष जनशक्तिको अभावका कारण संकटमा पर्न थालेका हुन् । रामेछाप जिल्लाको सुनापति, दोरम्बा, खाँडादेबी लगाएतका गाउँ पालिकाहरुका बिभिन्न वडाहरुमा अहिले गलैंचा उद्योगहरु संचालनमा रहेका छन् ।
दक्ष जनशक्ति नभएका कारण आफ्नो उद्योगले सोचे अनुसारको उत्पादन गर्न नसकेको कुरा जिल्लाको सुनापति गाउँ पालिकाको कालिदेबी गलैंचा उद्योगका संचालक ढुवा सिंह तामाङ्ग बताउनु हुन्छ । अहिले ४० जनालाई रोजगारी दिंदै आएको उक्त उद्योगले बार्षिक ३० लाख बढिको गलैंचा बिक्रि गर्ने गरेको तामाङ्गले जानकारी दिनु भयो । अहिले गाउँमा मानिसहरु बस्न छाडेपछि कामदार पाउन मुस्किल भएसंगै उत्पादन पनि कम हुन थालेको उहाँ बताउनु हुन्छ ।
जिल्लामा गलैंचा उद्योगलाई प्रोत्साहन गर्न भनेर उद्योग तथा बाणिज्य कार्यालय रामेछापले बेला बेलामा तालिम तथा मेसिनको सहयोग गर्दै आएको कार्यालयका प्रमुख खेमराज घिमिरे बताउनु हुन्छ । उद्योगले राम्रो उत्पादन दिन नसक्नुमा तालिमको अभाव, कच्चा पदार्थ ल्याउन असजिलो र जनशक्ति समेतको अभाव भएको घिमिरेले बताउनु भयो ।









