मालुमा रोकिएको मतदान पुनः सुचारु
मतदानको समय सकिनै लाग्दा दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुचारु गरिएको छ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो। उत्तेजित भीडले मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए।
हवाई फायरपछि त्रसित बनेका मतदाता तितरबितर हुँदा केही समयका लागि मतदान प्रक्रिया अवरुद्ध भएको थियो।
पछि स्थिति सामान्य बनेपछि मतदान अधिकृत ज्ञानकुमार खड्काका अनुसार केहीबेरअघि मतदान पुनः सुरु गरिएको हो। मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई पुनः मतदान केन्द्रमा आउन आग्रह गरेको छ।









