आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन र फागुन १८ गतेको होली पर्वलाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय, रामेछापले विशेष नियमहरु लागु गरेको छ।प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १५ गतेदेखि चुनावको अन्तिम मतपरिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा (रक्सी) बिक्री-वितरण र सेवन गर्न पूर्ण रुपमा रोक लगाएको छ। साथै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार निषेध अवधि (मौन अवधि) सुरु हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण जिल्लावासीलाई आग्रह गरिएको छ।त्यसैगरी, होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरीत जबरजस्ती रङ दल्न वा लोला हान्न, बाटो छेकेर दुःख दिन, रकम असुल्न र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन सख्त मनाही गरिएको छ। प्रशासनले वातावरण र जनस्वास्थ्यमा असर पर्ने खालका केमिकल तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न समेत सचेत गराएको छ।यसका साथै, मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकाय आदि) र अनुमति प्राप्त बाहेकका अन्य सम्पूर्ण सवारी साधन चलाउन बन्द गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर के.सी.द्वारा जारी सूचना अनुसार यो नियम फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि लागु हुनेछ।










