रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक चुनावलाई नारामुखी नभई विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धाका रूपमा अघि सारेको जनाएको छ।
पार्टीले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ अनुसार आन्तरिक मतभेद र असमझदारीलाई पछाडि छाड्दै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर चुनावी मैदानमा होमिन निर्देशन दिइएको छ। कांग्रेस नेतृत्वले निर्वाचनलाई पार्टी रूपान्तरणको अवसरका रूपमा लिँदै संगठन, विचार र व्यवहार तीनै तहमा परिवर्तनको सन्देश मतदातासमक्ष पुर्याउन जोड दिएको छ।
केन्द्रीय समितिको बैठकले सभापति **गगनकुमार थापा**लाई प्रधानमन्त्री पदका लागि सर्वसम्मत रूपमा अघि सारेपछि पार्टीभित्र उत्साह र आत्मविश्वास बढेको कांग्रेसको दाबी छ। सो निर्णयले कांग्रेसको चुनावी माहोल थप बलियो बनाएको भन्दै यसलाई कुशल ढंगले मतदातामाझ स्थापित गर्न सबै तहका कमिटी र प्रचारकलाई जिम्मेवारीसाथ लाग्न आग्रह गरिएको छ।
निर्देशिकामा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्दै मर्यादित, शान्तिपूर्ण र भयरहित निर्वाचन वातावरण निर्माणमा कांग्रेसको भूमिका स्पष्ट पारिएको छ। गाली, घृणा र उत्तेजनाबाट टाढा रहँदै स्वस्थ आलोचना, विचार र व्यक्तित्वको प्रतिस्पर्धालाई चुनावी संस्कृतिका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि पार्टीले दोहोर्याएको छ।
कांग्रेसले विगतमा आफ्नो नेतृत्वमा देशले हासिल गरेका राजनीतिक, आर्थिक तथा सामाजिक उपलब्धिलाई आधार बनाएर चुनावी अभियान अघि बढाउने रणनीति लिएको छ। साथै, विगतका कमजोरी स्वीकार गर्दै ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने आत्मालोचनात्मक दृष्टिकोणसहित नयाँ ढंगले अघि बढ्ने संकल्पलाई मतदातासमक्ष प्रष्ट रूपमा राखिने जनाइएको छ।
डिजिटल माध्यमको बढ्दो प्रभावलाई ध्यानमा राख्दै कांग्रेसले सामाजिक सञ्जाल केन्द्रित अभियानलाई प्राथमिकता दिएको छ। स्थानीय रूपमा निर्माण गरिएका मर्यादित र तथ्यपूर्ण सामग्रीमार्फत मतदाता शिक्षा, पार्टीको भिजन र एजेण्डा प्रस्तुत गरिने पार्टीको योजना छ।
समग्रमा ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने सन्देशमार्फत कांग्रेसले आफूलाई केवल सत्ता प्राप्तिको आकांक्षी दलका रूपमा होइन, देशलाई समयानुकूल नेतृत्व दिन सक्षम राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।









