रामेछाप । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापले वंशगत पहिचान, इतिहास र आपसी सम्बन्धलाई व्यवस्थित गर्न डिजिटल वंशावली निर्माण गर्ने निर्णय गरेको छ। शनिबार मन्थलीमा सम्पन्न समाजको १२औँ वार्षिक साधारण सभाले आगामी दिनमा वंशावलीलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल अभिलेखीकरण गर्ने स्पष्ट कार्यदिशा तय गरेको हो।
साधारण सभाले डिजिटल वंशावली निर्माणका लागि वंशका सदस्यहरूसँग तथ्यांक संकलन गर्ने, भेटघाट कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक तालिम प्रदान गर्ने निर्णय गरेको छ। वंशभित्रको इतिहास, पुस्तान्तरण र पारिवारिक विवरण सुरक्षित राख्न डिजिटल प्रणाली प्रभावकारी हुने निष्कर्षसहित यो निर्णय गरिएको लेखा समिति संयोजक मनोज बुढाथोकीले जानकारी दिए। उनका अनुसार यसले आगामी पुस्तालाई आफ्नो पहिचान र वंशीय इतिहास बुझ्न सहज बनाउनेछ।
खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज रामेछापका अध्यक्ष ज्ञानबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न साधारण सभामा समाजका केन्द्रीय अध्यक्ष गणेशबहादुर बुढाथोकी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा अशोकबहादुर बुढाथोकी, हेमबहादुर बुढाथोकी, नरबहादुर बुढाथोकी तथा बागमती प्रदेश उपाध्यक्ष योज्ञेन्द्र बुढाथोकीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
साधारण सभामा ज्येष्ठ नागरिक तथा खप्तडी बुढाथोकी मूलका धामी–पूजारीहरूलाई सम्मान गर्दै समाजले आफ्नो सांस्कृतिक र धार्मिक पहिचानप्रति प्रतिबद्धता व्यक्त गरेको थियो। यसका साथै वंशभित्रका उत्कृष्ट विद्यार्थीलाई सीपमूलक तालिम दिने निर्णयसमेत गरिएको छ, जसले युवापुस्तालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सभाले ‘एक घर, एक जना आजीवन सदस्य’ बनाउने अभियानलाई अघि बढाउने निर्णय गर्दै आजीवन सदस्य शुल्क पाँच हजार रुपैयाँ तोकेको छ। समाजको संगठनलाई बलियो बनाउने र दीर्घकालीन कार्यक्रम सञ्चालनका लागि आजीवन सदस्यता महत्वपूर्ण हुने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।
उक्त साधारण सभाले १५ सदस्यीय जिल्ला कार्यसमिति, तीन सदस्यीय लेखा समिति र पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। नवगठित कार्यसमितिले डिजिटल वंशावली निर्माणलाई प्राथमिक कार्यक्रमका रूपमा अघि बढाउने जनाएको छ।
रामेछाप जिल्लामा खप्तडी बुढाथोकी क्षेत्री समुदायका करिब एक हजार तीन सय घरपरिवार रहेको अनुमान छ। डिजिटल वंशावली निर्माणको निर्णयले समुदायलाई एकआपसमा थप नजिक ल्याउने र भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको रूपमा काम गर्ने समाजका पदाधिकारीहरूको विश्वास छ।









