रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। श्यामकुमार श्रेष्ठ यसअघि एक पटक संविधानसभा सदस्य र एक पटक प्रतिनिधिसभा सदस्य भइसकेका छन्। उनी पूर्वगृह राज्यमन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्।
यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय तालिका तोकेको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपाली कम्युनिस्ट पार्टीलाई बिहान ११:३० देखि १२:३० बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ। सो समयभित्र जिल्ला अदालत रामेछापको परिसरभित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिनेछ।
पार्टीले तोकिएको समयमै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जनाएको छ। उम्मेदवार चयनसँगै जिल्लामा नेकपाको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपाले संगठन सुदृढीकरण, मतदाता भेटघाट तथा चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ। विभिन्न दलहरूले उम्मेदवार टुंग्याउने क्रमसँगै रामेछापको राजनीतिक माहोल थप तातिँदै गएको छ।









